चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको पाँच हजार रुपैयाँ प्रतिनिधि शुल्क अनिवार्य नलिन पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
महाधिवेशनको अवधि अपेक्षाभन्दा लम्बिएपछि प्रतिनिधिमाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ । सभापति लामिछानेले अबदेखि प्रतिनिधिहरूले शुल्क बुझाउनुपर्ने बाध्यता नरहेको स्पष्ट पारेका छन्।
यसअघि शुल्क बुझाइसकेका तर आर्थिक समस्यामा रहेका प्रतिनिधिहरूले आवश्यक प्रक्रिया पूरा गरेर आफूले बुझाएको पाँच हजार रुपैयाँ फिर्ता लिन सक्ने व्यवस्था पनि पार्टीले गरेको जनाएको छ।
रास्वपाले चितवनमा बसिरहेका प्रतिनिधिहरूलाई आवास, खानपिन वा अन्य व्यवस्थापनसम्बन्धी कुनै समस्या आए सम्बन्धित व्यवस्थापन समितिमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।