काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै लामो समयदेखि गैरहाजिर र सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन अन्तिम मौका दिएको हो ।
सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ।
सम्पर्कविहीन हुनेहरूमा प्राविधिक प्रहरी नायव निरीक्षक अनुपाकुमारी तिवारी, प्रहरी सहायक निरीक्षक जोसेफ तावा, प्रहरी सहायक हबलदार विजय खड्कालगायत १२ जना प्रहरी कर्मचारी रहेका छन्।
