काठमाडौं । नेपाल प्रहरीले अबदेखि मासिक तलब एकैपटक पाउने परम्परागत प्रणाली परिवर्तन गर्दै १५–१५ दिनको अन्तरालमा तलब–भत्ता पाउने भएको छ।
प्रहरी प्रधान कार्यालयले मातहतका निकायहरूलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ देखि अर्धमासिक (पन्ध्र–पन्ध्र दिन) तलब भुक्तानी प्रणाली लागू गर्न निर्देशन दिएको हो।
प्रधान कार्यालयका अनुसार अर्थ मन्त्रालयको निर्णय र महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा यो नयाँ व्यवस्था लागू गरिएको हो।
नयाँ प्रणालीअनुसार अब प्रहरी कर्मचारीहरूले प्रत्येक १५ दिनमा आफ्नो तलब–भत्ता प्राप्त गर्नेछन्, जसले मासिक एकपटकको भुक्तानी प्रणालीलाई विस्थापित गर्नेछ।
परिपत्रमा सबै सम्बन्धित कार्यालयहरूलाई आवश्यक आर्थिक तथा प्रशासनिक तयारी पूरा गरी प्रणाली कार्यान्वयन गर्न भनिएको छ।
साथै, नेपाल प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई वित्तीय व्यवस्थापन प्रणाली अद्यावधिक गरी नयाँ भुक्तानी संरचना सहज रूपमा लागू गर्न निर्देशन दिइएको छ।