चितवन । रास्वपाको महाधिवेशनको सिलसिलामा चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक (भान्छे) लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान विमानस्थल अगाडि रहेको लर्ड होटलमा नास्ता गर्ने क्रममा गृहमन्त्री गुरुङको अम्लेटमा दुई वटा माछाको काँडा फेला परेको थियो ।
घटनापछि अम्लेट तयार पार्ने दुईजना कुकलाई पक्राउ गरिएको हो ।
अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रमुख जिल्ला अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी लगायतको संयुक्त टोलीले होटलको भान्सा (किचन) को अनुगमन समेत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि रास्वपा नेतासमेत रहेका गुरुङमाथि अज्ञात समूहले सोमबार राति धारिलो हतियार प्रयोग गरि घाइते बनाएको र हाल उनको अस्पतालमा उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमा अहिले पनि विवरणहरू भाइरल भइरहेका छन् ।