चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भोलि (बुधबार) पहिलो चरणको मतदान हुने भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै बुधबार बिहानदेखि सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुने जनाएको हो। मतदानको समय भने आयोगले अझै सार्वजनिक गरेको छैन।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको दुई घण्टाभित्र पहिलो चरणको मतगणना सुरु गरिनेछ र त्यसपछि मतपरिणाम घोषणा गरिनेछ।
उनले दोस्रो चरणको उम्मेदवारी दर्ता तथा बाँकी निर्वाचन प्रक्रियासम्बन्धी कार्यतालिका पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिने जानकारी दिए।
मंगलबार उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा गरिने आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आज (मंगलबार) राति ११ः४५ बजेदेखि मौन अवधि लागू हुने आयोगले जनाएको छ। मौन अवधिमा उम्मेदवार तथा समर्थकले कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार गर्न नपाउने व्यवस्था गरिएको छ।