काठमाडौं । इरानले युद्धविराम उल्लंघन भए तत्काल जवाफ दिने चेतावनी दिएको छ।
इरानका कार्यवाहक रक्षामन्त्री ब्रिगेडियर जनरल मजिद इब्न-इ-राजाले अमेरिकी पक्षप्रति लक्षित गर्दै युद्धविराम तोडिए सैन्य कारबाही गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका हुन्।
इरानको सरकारी टेलिभिजन प्रेस टीभीसँगको अन्तर्वार्तामा उनले भने, "हाम्रा औँला ट्रिगरमा छन्। यदि युद्धविराम तोडियो भने हामी कारबाही गर्नेछौँ भन्ने कुरामा कसैले शंका नगरे हुन्छ।"
उनले इरानले आफ्ना प्रतिद्वन्द्वीमाथि विश्वास गर्न नसकिने भन्दै कुनै पनि सम्भावित उल्लंघनको कडा जवाफ दिन सेना तयारी अवस्थामा रहेको बताए।
इरानको यो अभिव्यक्ति अमेरिकाका प्रतिनिधिहरू कतारको राजधानी दोहा पुगेका बेला आएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुसनर इरानसँग सम्बन्धित कूटनीतिक पहलका लागि दोहा पुगेका हुन्।