Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

अमेरिकाले गर्‍यो इरानमा भीषण हवाई हमला, खाडी क्षेत्रमा उच्च सतर्कता

अमेरिकाले गर्‍यो इरानमा भीषण हवाई हमला, खाडी क्षेत्रमा उच्च सतर्कता

आइतवार , आषाढ १४, २०८३

एजेन्सी । स्ट्रेट अफ हर्मोजमा पानामाको झण्डा बोकेको एक व्यापारिक ट्याङ्करमाथि ड्रोन आक्रमण भएपछि अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ।

घटनाको प्रतिकारस्वरूप अमेरिकाले इरानभित्र रहेका विभिन्न सैन्य संरचनामाथि शक्तिशाली हवाई आक्रमण गरेको जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार शनिबार ‘एमटी किकु’ नामक तेल ट्याङ्करमाथि भएको आक्रमणको जवाफमा इरानका सैन्य उपकरण, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र तथा ड्रोन भण्डारण स्थलहरूलाई लक्षित गरी हवाई हमला गरिएको हो।

कमान्डले जारी गरेको विज्ञप्तिमा जुन १७ मा भएको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इरानलाई पर्याप्त अवसर दिइएको भए पनि उसले व्यापारिक जहाजहरूमाथि आक्रमण जारी राखेकाले सैन्य कारबाही अपरिहार्य बनेको उल्लेख गरिएको छ।

यसअघि जुन २५ मा सिङ्गापुरको झण्डा बोकेको ‘एमभी एभर लभ्ली’ जहाजमाथि भएको आक्रमणपछि पनि अमेरिकाले इरानमाथि हवाई प्रहार गरेको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई कडा चेतावनी दिएका छन्। उनले इरानले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आवश्यक परे सैन्य शक्ति प्रयोग गर्न अमेरिका पछि नहट्ने र त्यसले इरानको शासनको अस्तित्वमै प्रश्न उठाउन सक्ने चेतावनी दिएका छन्।

अमेरिकी आक्रमणसँगै खाडी क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । कुवेत र बहराइनले आफ्ना हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेका छन्।

कुवेती सशस्त्र बलले सम्भावित मिसाइल तथा ड्रोन आक्रमणको जोखिम रहेको भन्दै नागरिकलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। बहराइनको गृह मन्त्रालयले पनि नागरिकलाई शान्त रहन र सुरक्षित स्थानमा बस्न अपिल गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077