एजेन्सी । अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुल र अरू क्षेत्रमा पनि भूकम्पको ‘बलियो’ कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् ।
अफगानिस्तानका विभिन्न प्रान्तमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको जनाएको छ ।
भूकम्पका कारण काबुलमा भवनहरू हल्लिएका थिए । बल्ख र बदख्शान प्रान्तमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
यी प्रान्तका सीमा ताजिकिस्तान र पाकिस्तानसँग जोडिएको छ । पूर्वतर्फ नान्गाहर र खोस्ट प्रान्तमा पनि कम्पन महसुस गरिएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण तत्काल उपलब्ध हुन सकेको छैन ।