Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

असार १५ गते ‘धेरै भारी’सम्म वर्षाको पूर्वानुमान, हावाहुरीको समेत जोखिम

असार १५ गते ‘धेरै भारी’सम्म वर्षाको पूर्वानुमान, हावाहुरीको समेत जोखिम

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । देशभर मनसुन क्रमशः सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्ने र केही स्थानमा ‘धेरै भारी’ वर्षासमेत हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्दै सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार शनिबारको तुलनामा आइतबार वर्षा बढ्नेछ भने सोमबार (असार १५) झन् सक्रिय हुने सम्भावना रहेको छ।

राष्ट्रिय धान दिवसका अवसरमा विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गर्दै सुरक्षित रूपमा दैनिक कामकाज गर्न अनुरोध गरेको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकीका केही क्षेत्र तथा लुम्बिनीको पूर्वी भूभागसम्म मनसुनी वायु सक्रिय रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी र लुम्बिनीका बाँकी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आगामी तीनदेखि चार दिनभित्र मनसुन फैलिने सम्भावना रहेको छ।

वर्षाको मापनअनुसार २४ घण्टामा १० मिलिमिटरसम्म पानी परे हल्का, १० देखि ५० मिलिमिटरसम्म परे मध्यम, ५० देखि १०० मिलिमिटरसम्म परे भारी, १०० देखि २०० मिलिमिटरसम्म परे धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिने विभागले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077