काठमाडौं । होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुले आजपनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले शनिबार पनि माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम दिगो, उचित समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानुन बमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।
प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीका तर्फबाट दलमर्दन कामीले होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाब दिँदा मानसिक तनाव उत्पन्न भएको बताए ।
केहीदिन अघि कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आजको मितीसम्म आफ्नो व्यवस्था आफै गर्न सूचना जारी गरेको थियो।
समय कम भएको भन्दै आएको गुनासोलाई ध्यानमा राखेर अब असार १९ गतेसम्म होल्डिङ सेन्टर खालि गर्न म्याद थप गरेको छ ।
काठमाडौंका विभिन्न खोला छेउका स्थानमा बसिरहेका सुकुम्वासी सरकारले गत वैशाख १२ गतेदेखि हटाउन सुरु गरेको थियो। त्यतिबेला सरकारले १५ दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो।
अहिले उनीहरूको विवरण संकलन र व्यवस्थापनको काम भइरहेको छ ।
तर, तत्कालका लागि घर भाडा उपलब्ध गराइने भन्दै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी भएपछि होल्डिङ सेन्टरमा बस्दै आएकाहरूले विरोध जनाएका हुन्।
उनले आफूहरूलाई सरकारले सडकमा अलपत्र पार्न खोजिएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गरे । प्रदर्शनमा सहभागीहरूले डोजर होइन, समाधान दे, जनता मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन, गरिब माथिको ज्यादती बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।