काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।
ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार साँझ शेर्पालाई पक्राउ गरेको हो ।
सिआइबीका अनुसार उनी हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा विभिन्न प्रपञ्च र योजनाबद्ध तरिकाबाट विद्यालयको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानबाट शेर्पाले विद्यालयलाई आर्थिक रूपमा नोक्सानी पुर्याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वको कम्पनीमा बिक्री गराएको तथ्य फेला परेको सिआइबीले जनाएको छ।
उक्त घटनामा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुर आकर्षित हुने देखिएपछि शेर्पालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले जानकारी दिए।