काठमाडौं । सरकारले देशका विभिन्न ठाउँमा सुकुम्वासी बस्ती हटाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ।
शुक्रबार केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो।
विस्थापित सुकुम्वासीको बसोबासको व्यवस्था गर्न, भत्काएका घरको क्षतिपूर्ति दिन उनीहरूले माग गरेका छन्।
केहीदिन अघि कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आजको मितीसम्म आफ्नो व्यवस्था आफै गर्न सूचना जारी गरेको थियो।
समय कम भएको भन्दै आएको गुनासोलाई ध्यानमा राखेर अब असार १९ गतेसम्म होल्डिङ सेन्टर खालि गर्न म्याद थप गरेको छ ।
काठमाडौंका विभिन्न खोला छेउका स्थानमा बसिरहेका सुकुम्वासी सरकारले गत वैशाख १२ गतेदेखि हटाउन सुरु गरेको थियो। त्यतिबेला सरकारले १५ दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो।
अहिले उनीहरूको विवरण संकलन र व्यवस्थापनको काम भइरहेको छ ।
तर, तत्कालका लागि घर भाडा उपलब्ध गराइने भन्दै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी भएपछि होल्डिङ सेन्टरमा बस्दै आएकाहरूले विरोध जनाएका हुन्। उनीहरूले सुकुम्बासीमाथि भएको राज्य आतंक बन्द गर, भत्काइएका सुकुम्बासीको घरटहराको क्षतिपूर्ति दे, सुकुम्बासीको पहिचान गरी पुनस्स्थापना गरलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।
वैकल्पिक व्यवस्था नदिई सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट पनि हटाएर अलपत्र पार्न खोजिएको भन्दै आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ।
उनीहरूले सरकारले आफूहरूको उचित व्यवस्थापन नगरे पुनः पुरानै ठाँउमा गएर बस्ने चेतावनीसमेत दिएका छन्।
यसैबीच सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारलाई घर भाडामा बस्न सहयोग गर्न २५ हजार रुपैयाँ दिने तयारी पनि गरेको छ ।
वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने तयारी छ ।