काठमाडौं । सरकारले कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता समय थपेको छ ।
यसअघि असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो ।
तर समय कम भएको भन्दै आएको गुनासोलाई ध्यानमा राखेर म्याद थप गरिएको हो ।अब उनीहरूले असार १९ गतेसम्म होल्डिङ सेन्टर छोड्नुपर्ने भएको छ ।
सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारलाई घर भाडामा बस्न सहयोग गर्न २५ हजार रुपैयाँ दिने तयारी पनि गरेको छ ।
गत जेठ ५ को मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुम्वासीका लागि पुनस्स्थापनाका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने तयारी छ ।
यो रकम लिनका लागि असार १५ गतेभित्र दशरथ रंगशालामा पुगेर बैंक खाता नम्बर सहित निवेदन दिनुपर्नेछ ।
काठमाडौंका विभिन्न खोला छेउका स्थानमा बसिरहेका सुकुम्वासी सरकारले गत वैशाख १२ गतेदेखि हटाउन सुरु गरेको थियो। त्यतिबेला सरकारले १५ दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो।
अहिले उनीहरूको विवरण संकलन र व्यवस्थापनको काम भइरहेको छ ।