Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

लागुऔषधको दलदलमा कैलाली-कञ्चनपुर : आठ दिनमा ५४ जना पक्राउ, किशोरसम्म फैलियो जालो !

लागुऔषधको दलदलमा कैलाली-कञ्चनपुर : आठ दिनमा ५४ जना पक्राउ, किशोरसम्म फैलियो जालो !

शनिवार , आषाढ १३, २०८३

धनगढी । सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा लागुऔषध कारोबार तथा प्रयोग चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ ।

पछिल्लो एक सातामै यी दुई जिल्लाबाट ५४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना बालकसमेत रहेका छन्, जसले लागुऔषधको जालो किशोरसम्म फैलिएको संकेत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार असार ५ गतेदेखि ११ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ३० जना लागुऔषध मुद्दामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीनजना बालक रहेको र उनीहरूलाई बाल सुधार गृह पठाइएको छ भने अन्य २७ जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको उनले बताए ।

उनीहरूको साथबाट ४ ग्राम ३४० मिलिग्राम गाँजा, ५ ग्राम ९९० मिलिग्राम चरेस तथा ६० ग्राम ८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी युनिटले सञ्चालन गरेको विशेष अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

यस्तै कैलालीमा शुक्रबार मात्रै पनि लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाभर निगरानी र विशेष अभियानलाई थप तीव्र बनाएको जनाएको छ ।

उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि असार ६ देखि १२ गतेसम्म २५ जनालाई लागुऔषध बिक्री तथा प्रयोगमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ पुरुष र एक महिला रहेका छन् ।

कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार पक्राउ परेकाहरूबाट १७ ग्राम खैरो हेरोइन, १५–१५ थान प्रोमेथाजिन र बुप्रेनोर्फिन बरामद गरिएको छ । यस अवधिमा लागुऔषधसम्बन्धी १२ वटा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुर जिल्लालाई लामो समयदेखि लागुऔषध ओसारपसार र कारोबारको 'हटस्पट' मानिँदै आएको छ । पछिल्ला तथ्याङ्कले पनि सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको देखाएको छ ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहे पनि अभियान सफल हुन सकेको छैन । लागुऔषध प्रयोगकर्ता झनझन बढ्दै गएका छन् । प्रहरी एक्लैले लागुऔषध नियन्त्रण गर्न नसक्ने प्रहरी अधिकृतहरु नै बताउँछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077