विराटनगर । नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई जिल्ला कारागार मोरङका कैदीबन्दीको भत्ता तथा श्रमबाट प्राप्त रकम असुली गरेको आरोपमा पक्राउ गरिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर–८ मधुमारास्थित गिरीको निवासमा खानतलासी गरी थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो ।
घर तथा बाहिर पार्किङमा रहेका दुईवटा कारको समेत तलासी गरिए पनि शंकास्पद सामग्री भने फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने दैनिक भत्ता, जाडो–गर्मीका लागि दिइने लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकमसमेत असुली गर्ने गरेको आरोप छ।
हाल मोरङ कारागारमा १ हजार १९९ जना कैदीबन्दी रहेका छन्, जसमा १ हजार ९२ पुरुष र १०७ महिला छन्। उनीहरूलाई सरकारले दैनिक ८० रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ पुग्छ।
कारागारभित्र करिब ५ सय कैदीबन्दीले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्दै आएका छन्। ती सामग्री बिक्रीबाट प्राप्त आम्दानी र सरकारले कपडा खरिदका लागि जाडो तथा गर्मीमा छुट्टाछुट्टै २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने रकमसमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा असुली गरेको गुनासो प्रहरीसम्म पुगेको स्रोतको दाबी छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार गिरीले रकम आफ्ना सहयोगीहरूको बैंक खातामार्फत संकलन गराउने गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ।
अहिले उक्त रकम कुन–कुन माध्यमबाट गिरीसम्म पुगेको थियो भन्ने विषयमा बैंकिङ तथा अन्य प्रमाण संकलन भइरहेको छ। प्रहरीले घटनासँग सम्बन्धित आर्थिक कारोबारको पाटोलाई विशेष प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कारागार बसेका थिए । कारागारमा रहँदा उनी लामो समय चौकीदारको जिम्मेवारीमा थिए । त्यतिबेला कैदीबन्दीमाथि दमन र आर्थिक शोषण गरेको आरोप पनि उनीमाथि लाग्दै आएको थियो ।
कारागारबाट छुटेपछि पनि उनले बाहिरबाट कारागारको व्यवस्थापनमा हस्तक्षेप गर्ने गरेको आरोप छ । करिब दुई वर्षअघि कैद भुक्तान गरी रिहा भएका गिरीले त्यसपछि ‘गिरी फाउन्डेशन’ स्थापना गरेर सामाजिक गतिविधिमा सक्रियता देखाएका थिए ।