विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले शनिबार बिहान विराटनगरस्थित निवासबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।
विशेष सूचनाका आधारमा खानतलासी गर्न गएको टोलीले आवश्यक अनुसन्धानका लागि गिरीलाई पक्राउ गरेको डीएसपी मिश्रले बताए ।
प्रहरीले खानतलासीका क्रममा के–कस्ता सामग्री बरामद भए भन्नेबारे भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
अभिषेक गिरी यसअघि अपहरण मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।