कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ रतनपुरबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
बुधबार साँझ करिब ७ः३० बजे लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा खटिएको टोलीले २२ वर्षीय गोबिन्द जोशीलाई पक्राउ गरेको हो ।
आफ्नै घर नजिक रहेको शौचालय पछाडि स्टिलको थालमा लेप लगाई खैरो हिरोइन जस्तो देखिने खैरो धुलो पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएर चेकजाँच गर्दा जोशीले लगाएको ज्याकेटको बाँया गोजीभित्र रहेको सलाइको बट्टामा सेतो प्लास्टिकमा प्याक गरिएको तीन पोका लागुऔषध फेला परेको थियो ।
प्लास्टिकसहित तौल गर्दा २ ग्राम १०० मिलिग्राम र शुद्ध तौल गर्दा १ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको बताइएको छ । उनीमाथि इलाका प्रहरी कार्यालय बेलडाँडीले थप अनुसन्धान थालेको छ ।