कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–२ नयाँबस्तीबाट ३० ग्राम ९३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित चार जनालाई बिहीबार साँझ पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का ४० वर्षीय लालबहादुर सुनार र ३१ वर्षीय हेमराज जोशी, बेतकोट नगरपालिका–७ दैजीका ३१ वर्षीय विमल पाण्डे तथा कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका २५ वर्षीय अशोक पाण्डे रहेका छन्।
कञ्चनपुर प्रहरीका अनुसार उक्त क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट बाणीबाट खटिएको संयुक्त टोलीले विशेष निगरानीपछि उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट बिएए १३५१ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । स्कारपियोबाट बरामद गरिएको लागुऔषधसहित चारै जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।