Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पत्रकार खेम भण्डारी कारागार चलान, कैद मिलानको माग अदालतबाट अस्वीकृत

पत्रकार खेम भण्डारी कारागार चलान, कैद मिलानको माग अदालतबाट अस्वीकृत

बिहिवार , आषाढ १८, २०८३

धनगढी । गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेपछि बिहीबार कारागार चलान गरिएको छ।

अदालतले तोकेको एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय कार्यान्वयनका लागि उनलाई कारागार पठाइएको हो।

कारागार चलान हुनुअघि भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम रकम बुझाएर कैद मिलान गरिपाउँ भन्दै कानुन व्यवसायीमार्फत जिल्ला अदालत कञ्चनपुरमा निवेदन दिएका थिए।

तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त माग अस्वीकार गरेपछि उनलाई कारागार पठाइएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए।

ओझाका अनुसार दफा १५५ अन्तर्गतको सुविधा पहिलोपटक कैद सजाय पाएका व्यक्तिका हकमा मात्र लागू हुने कानुनी व्यवस्था छ। भण्डारी यसअघि पनि एक मुद्दामा कैद सजाय पाइसकेकाले उनलाई उक्त सुविधा उपलब्ध गराउन नमिल्ने अदालतको निष्कर्ष रहेको उनले बताए।

भण्डारी यसअघि पनि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय पाइसकेका थिए।

पछिल्लो मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते भण्डारीलाई गाली बेइज्जती कसुरमा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो। त्यसपछि उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले थप ७ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना कायम गरेपछि अन्तिम सजाय एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवाना पुगेको हो।

यो मुद्दा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचारका कारण उत्पन्न भएको हो।

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले आफूलाई तथ्यहीन रूपमा घटनासँग जोडेर समाचार प्रकाशन गरिएको आरोप लगाउँदै भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए। किरण विष्ट हाल राष्ट्रिय समाचार समितिमा पत्रकारका रूपमा कार्यरत छन्।

वि.सं. २०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भन्दै घरबाट निस्किएकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलाको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077