काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो आधिकारिक नाम तथा ब्यूरो प्रमुखको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई डर देखाएर ठगी गर्ने उद्देश्यले पठाइएका भ्रामक इमेलप्रति सचेत रहन आग्रह गरेको छ।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा सीआईबीले पछिल्लो समय केही व्यक्तिलाई ब्यूरोको नाम र प्रमुखको नाम प्रयोग गरी कानुनी कारबाहीको धम्की दिने खालका अनधिकृत इमेल पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिअनुसार, “तत्काल जवाफ नदिए केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतमा मुद्दा दायर गर्नेछ” भन्ने आशयका सन्देश पठाएर सर्वसाधारणलाई त्रसित बनाउने र ठगी गर्ने प्रयास भइरहेको छ। सीआईबीले यस्ता इमेल वा पत्राचार आफ्नो कार्यालयबाट जारी नगरिएको स्पष्ट पार्दै त्यस्ता भ्रामक सन्देशमा विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ।
ब्यूरोका अनुसार यस प्रकारका साइबर ठगीका गतिविधिबारे नेपाल प्रहरीको साइबर ब्यूरोमार्फत आवश्यक अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
सीआईबीले आफ्नो आधिकारिक नाम, लोगो वा पदाधिकारीको नाम दुरुपयोग गरी हुने ठगीका प्रयासप्रति सतर्क रहन, कुनै पनि शंकास्पद इमेल प्राप्त भएमा त्यसमा प्रतिक्रिया नजनाई सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।