काठमाडौं । नेपाली सेनाकी जमदार ईश्वरी भुजेल हत्या प्रकरणमा मुख्य अभियुक्त उनका पति ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार थुनछेक बहसपछि कुमार र प्रतीक्षालाई थुनामा पठाउने आदेश दिएको हो।
यस्तै, सहअभियुक्त कुमारका भाइ विक्रम थापा मगर र उनका साथी सुजन थापालाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको अदालतले जनाएको छ ।
अनुसन्धानका अनुसार २०८३ जेठ २२ गते राति कुमार थापाले चक्कु प्रहार गरी पत्नी ईश्वरी भुजेलको हत्या गरेका थिए। नेपाली सेनाको सैनिक ब्यान्ड, नारायणहिटीमा कार्यरत ईश्वरी ड्युटी सकेर घर फर्किने क्रममा आक्रमणमा परेकी थिइन्।
ईश्वरीले सम्बन्धविच्छेदको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन्। तर कुमारले सम्बन्धविच्छेद स्वीकार नगरेपछि अदालतले मेलमिलापका लागि पठाएको थियो।
विडम्बना, मेलमिलापका लागि पठाएको दुई दिनपछि नै ईश्वरीको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार कुमार र प्रतीक्षा आचार्यबीचको प्रेम सम्बन्धका कारण दम्पतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। यही विषयलाई लिएर उनीहरूबीच पटक–पटक झगडा भएको, कुटपिट र मानसिक यातनाका घटनासमेत भएको अनुसन्धानले देखाएको छ।
प्रहरी वृत्त बालाजु र प्रहरी परिसर काठमाडौंमा दुई पटक मिलापत्र गराइएको थियो। मिलापत्रका क्रममा कुमारले प्रतीक्षासँगको सम्बन्ध अन्त्य गर्ने लिखित प्रतिबद्धता जनाए पनि त्यसलाई पालना नगरेको अनुसन्धानमा उल्लेख छ।
प्रहरीका अनुसार हत्या हुनुअघि पनि कुमारले ईश्वरीलाई सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिन दबाब दिएका थिए। ईश्वरी त्यसका लागि तयार नभएपछि योजनाबद्ध रूपमा हत्या गरिएको निष्कर्ष प्रहरीले निकालेको छ।
अनुसन्धानका क्रममा कुमारले प्रतीक्षासँगको प्रेम सम्बन्ध र हत्या गर्ने योजनाबारे बयानमा स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनाको दिन उनी घर पुगे पनि ईश्वरी घर नआइसकेकाले बाटोमै ढुकेर बसेका थिए र घर फर्किने क्रममा चक्कु प्रहार गरी हत्या गरेका थिए।
प्रतीक्षा घटनास्थलमा उपस्थित नभए पनि उनको सम्बन्धका कारण परिवारमा लगातार विवाद सिर्जना भएको, मिलापत्रपछि पनि सम्बन्ध नटुटेको तथा उनी कुमारको नुवाकोटस्थित घरमै बस्ने गरेको तथ्य अनुसन्धानबाट खुलेको छ।
प्रहरीले कुमारका भाइ विक्रम थापा मगरले "ईश्वरीलाई तह लगाउन" उक्साएको तथा त्यसका लागि आवश्यक खर्च आफूले व्यहोर्ने आश्वासन दिएको आरोप लगाएको छ।
त्यस्तै, सुजन थापाले कुमार र प्रतीक्षाबीच भेटघाट गराउने तथा हत्या गर्न प्रेरित गरेको आरोप अभियोगपत्रमा उल्लेख छ।