काठमाडौं । असई थमन विक हत्या प्रकरणमा ५ वर्ष कैद सजाय सुनाइएका नेकपा एमालेका पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो ‘कोइरी’ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई बिहीबार साँझ करिब ६ बजे महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले अदालतको फैसला कार्यान्वयनका लागि महतोलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
बुधबार मात्रै उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महोत्तरी जिल्ला अदालतको फैसला उल्ट्याउँदै महतोसहित अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय सुनाएको थियो।
यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै दुवैलाई दोषी ठहर गरेको हो।
यस्तै, जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय पनि उच्च अदालतले घटाएर पाँच वर्ष कैद कायम गरेको छ।
तर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा भने उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको छ।
२०७२ भदौ २५ गते महोत्तरीमा प्रहरी सहायक निरीक्षक (असई) थमन विकको भीडले कुटपिट गरी हत्या गरेको आरोपमा तत्कालीन एमालेका सांसद लक्ष्मी महतोसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।