जनकपुरधाम । उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ । यससँगै यसअघि सफाइ दिएको महोत्तरी जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्टिएको छ ।
मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार फैसला सुनाउँदै महतोसहित अन्य पाँच प्रतिवादीलाई पनि जनही पाँच वर्ष कैद हुने ठहर गरेको हो ।
अदालतको संक्षिप्त फैसलामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते लक्ष्मी महतो र पवन कापरलाई दिएको सफाइ नमिलेको निष्कर्ष निकाल्दै उक्त फैसला सो हदसम्म उल्ट्याइएको उल्लेख छ ।
उच्च अदालतले लक्ष्मी महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १७(२) बमोजिम जनही पाँच वर्ष कैद सजाय हुने ठहर गरेको हो।
यो मुद्दा दोस्रो मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा भएको घटनासँग सम्बन्धित हो । आन्दोलनका बेला ड्युटीमा रहेका नेपाल प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाट बाहिर निकालेर आन्दोलनकारी समूहले हत्या गरेको आरोपमा मुद्दा दायर गरिएको थियो ।