काठमाडौं । अध्यागमन विभागले ललितपुरका दुई स्थानमा गरेको अनुगमन तथा खानतलासीका क्रममा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
विभागले धोबीघाटबाट ३ जना र चोभारबाट ६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो।
अध्यागमन विभागका अनुसार धोबीघाटस्थित एक घरमा ठूलो संख्यामा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अनुगमन गरिएको थियो।
त्यसक्रममा उक्त घरबाट तीन जना र चोभारस्थित ट्रेजर्स प्रालिबाट थप ६ जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानीसमेत विभागले नियन्त्रणमा लिएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट धोबीघाटको चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएको खुलेको छ। विभागको टोली पुगेका बेला ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक फेला परेका थिए। उनीहरूमध्ये ४ जना व्यावसायिक भिसा र १८ जना पर्यटक भिसामा नेपालमा रहेको पाइएको छ।
सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्र राहदानी पेश गरेका थिए। बाँकी चार जनाले राहदानी भिसासम्बन्धी प्रक्रियाका लागि कानुन व्यवसायीसँग रहेको बताएका थिए। त्यसपछि अनुसन्धानका लागि उपलब्ध १८ वटा राहदानी नियन्त्रणमा लिइएको विभागले जनाएको छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उक्त घर ड्रागन ब्रिज इन्टरनेसनल प्रालिले लिजमा लिएर सञ्चालन गरिरहेको खुलेको छ।
अनुगमनका क्रममा घरलाई होस्टल भनिए पनि होस्टल सञ्चालनसम्बन्धी कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला परेन।
त्यहाँ महिला र पुरुषलाई एउटै आवासमा राखिएको तथा आफूलाई सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग विदेशी नागरिकको बसोबाससम्बन्धी अभिलेख वा वास्तविक विवरणसमेत नरहेको पाइएको विभागले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट अधिकांश चिनियाँ नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्दै चोभारस्थित ट्रेजर्स प्रालि र ड्रागन ब्रिज इन्टरनेसनल प्रालिसँग आबद्ध भएर काम गरिरहेको खुलेको छ। विभागका अनुसार उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको देखिएको छ।
प्रारम्भिक अनुसन्धानबाट केही चिनियाँ नागरिक क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ।