काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंको शान्तिबाटिकामा रहेका संरचना तत्काल हटाउन नगरप्रहरीलाई निर्देशन दिएकी छन्।
महानगरपालिकाको ५३औँ नगर कार्यपालिका बैठकमा बोल्दै उनले शान्तिबाटिकामा रहेका संरचना हटाउन कुनै कानूनी अवरोध नरहेको स्पष्ट पार्दै यथासम्भव सोही दिनदेखि काम अघि बढाउन निर्देशन दिइन्।
उनले शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालयलगायतका संरचना हटाएर त्यसको प्रगति विवरण तस्बिरसहित आफू र सम्बन्धित वडाध्यक्षलाई उपलब्ध गराउन नगरप्रहरीलाई निर्देशन दिएकी हुन्।
बैठकमा उनले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइन्। कर्मचारी सम्मानको प्रक्रिया अनावश्यक रूपमा नलम्ब्याउन उनले जोड दिइन्।
फोहोर व्यवस्थापन महानगरको प्राथमिकतामा रहेको उल्लेख गर्दै डंगोलले कोर क्षेत्र र कोर क्षेत्रबाहिरको सरसफाइ तथा फोहोर व्यवस्थापनको वर्तमान अवस्था समीक्षा गरी आगामी कार्ययोजना तयार पारिने बताइन्।
जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगरसभाले यसअघि नै निर्णय गरिसकेको र त्यसका लागि प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा भइसकेको जानकारी पनि उनले दिइन्।