काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट पाठ सिक्दै सही दिशामा अघि बढ्नु आजको आवश्यकता भएको बताएकी छन् ।
शनिबारदेखि सुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उपप्रमुख डंगोलले यस्तो बताएका हुन् ।
शहीद सप्ताहलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई आत्मसमीक्षा र जिम्मेवारी बोध गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन् ।
इतिहासले जनताका लागि काम गर्न, अन्यायविरुद्ध आवाज उठाउन र सदैव कर्मठ रहन प्रेरणा दिने भन्दै उपप्रमुख डंगोलले भनिन्- 'शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रूपमा मात्र होइन, जिम्मेवारी बोध गर्ने दिनका रूपमा पनि लिनुपर्छ । इतिहास किताबका पानामा सीमित हुनुपर्ने विषय होइन, स्मरण गरेर जीवनमा उपयोग गर्नुपर्ने कुरा हो ।'
इतिहासले जनताका लागि काम गर्न, अन्यायविरुद्ध आवाज उठाउन र सदैव कर्मठ रहन प्रेरणा दिने उनको भनाइ छ ।
उनले शहीद शुक्रराज शास्त्रीले साहित्यको माध्यमबाट समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।