धनगढी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत डा. गोविन्द केसीलाई भेटेका छन् ।
भेटका क्रममा सरकार डा. केसीका मागप्रति संवेदनशील रहेको जनाउँदै सम्बन्धित निकायसँग विस्तृत छलफल गरी समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित मागहरूबारे शिक्षा, स्वास्थ्य तथा सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् । मागका विषयमा आइतबार थप विस्तृत छलफल हुने जनाइएको छ ।
अनसनरत डा. केसीले तीन प्रमुख माग अघि सारेका छन्। उनले विश्वविद्यालयका लागि आवश्यक दरबन्दी व्यवस्थासहित ३०० शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन, चालु शैक्षिक सत्रभित्रै एमबीबीएससहित मेडिकल शिक्षाको पठनपाठन सुरु, तथा स्वार्थ बाझिने गरी गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति तत्काल बदर गर्नुपर्ने माग गरेका छन् ।
डा( केसी बिहीबारदेखि धनगढीस्थित राधाकृष्ण मन्दिरमा अनसनमा बसेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको हो।