रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रिएको नयाँ विद्युतीय गाडी (ईभी) त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शुक्रबार साँझ करिब ५ः४० बजे गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेसी बजार पार गरी पुल तर्ने क्रममा उक्त गाडी नदीमा खसेको हो ।
प्रहरीका अनुसार गाडीको नम्बर र चालकको पहिचान खुल्न सकेको छैन । दुर्घटनापछि गाडी र चालक दुवै बेपत्ता रहेको जनाइएको छ।
बेपत्ता गाडी र चालकको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। सुरक्षाकर्मीको टोलीले त्रिशूली नदी आसपासको क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।