काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पारसमणि गेलाललाई नागरिकले चिठ्ठामा परेको माननीय भन्दै टिप्पणी गरेका छन् ।
उनका विगतका केही विवादित अभिव्यक्तिलाई लिएर एक समूहका नागरिकले सार्वजनिक रूपमा प्रश्न गरेपछि त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियोमा एक युवकले सांसद गेलाललाई लक्षित गर्दै 'चिठ्ठामा परेको माननीय हो तपाईं, चाउचाउको कुपनमा परेको हो' भन्दै प्रश्न गरेको देखिन्छ। जवाफमा गेलाल भने मुस्कुराइरहेका देखिन्छन्।
त्यसपछि अर्का युवकले उनलाई लक्षित गर्दै “तपाईं भ्युजका लागि कुद्नुभएको हो, हामीलाई भ्युजका लागि भन्ने ?” भन्दै प्रश्न गर्छन् ।
त्यसको जवाफमा गेलालले “भ्युजकै लागि हो भाइ तिमी” भनेको भिडियोमा सुनिन्छ। त्यसपछि उनले एक व्यक्तिलाई लिएर अर्को दिशातर्फ गएको देखिन्छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोपछि सांसद गेलाल पुनः चर्चामा आएका छन्। यसअघि गत असार तेस्रो सातामा उनले दिएको एउटा अभिव्यक्ति पनि सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको थियो।
गेलालले काम नगर्ने जनप्रतिनिधिलाई समेत सरुवा गरेर सुधार्न सकिने आशयको अभिव्यक्ति दिएपछि विवाद भएको थियो । यस्तै रास्वपाका अन्य सांसदलाई पनि नागरिकहरुले प्रश्न गर्न थालेका छन् ।
साथै सास्वपाका सांसद विभिन्न ठाउँमा दुव्र्यवहार पनि खेप्न बाध्य छन् । बिहीबार राति जनतासँग भेटघाट गर्ने क्रममा स्थानीय युवाले रौतहटका रास्वपाका सांसद गणेश पौडेललाई कालोमसी प्रहार गरेका थिए ।
उनलाई रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले कालोमसी प्रहार गरेका हुन् । केही दिन अघि मात्र स्याङ्जाकै रास्वपाका सांसद धनञ्जय रेग्मीलाई पनि पुलमा हिँड्नबाट स्थानीयले रोकेका थिए।