काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ (पपुलिजम) र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नहुने टिप्पणी गरेका छन् ।
नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै नयाँ शक्तिहरू अवसरवाद, लोकरिझ्याइँ र अराजकतावादको आधारमा उदाएको आरोप लगाए ।
उनले छिटो उदाएका राजनीतिक शक्तिहरूको पतन पनि त्यही गतिमा हुन सक्ने दाबी गरे। 'जुन शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतन पनि त्यति नै छिटो हुने सम्भावना हुन्छ,' पोखरेलले भने।
पोखरेलले नयाँ शक्तिहरू असफल भएपछि जनमत स्वतः पुराना राजनीतिक दलतर्फ फर्किन्छ भन्नेमा ढुक्क भएर बस्न नहुने बताए। उनका अनुसार नयाँ शक्तिको असफलतापछि सिर्जना हुने राजनीतिक रिक्ततालाई जनताको विश्वास पुनः हासिल गर्ने अवसरका रूपमा लिनुपर्ने चुनौती दलहरूसामु रहेको छ।
'पपुलिजमको असफलतापछि जनमत स्वतः हामीतिर फर्किन्छ भन्ने सोच गलत हुन सक्छ,” उनले भने, 'त्यसका लागि राजनीतिक दलहरूले समयमै तयारी गर्नुपर्छ।'