धनगढी । पाँचबुँदे माग राख्दै कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।
अनशनको तेस्रो दिन आज उनको स्वास्थ्य परीक्षणपछि सहयोगी टोलीले जारी गरेको अपडेटमा डा. केसीको ब्लड सुगर घटेर ५० एमजीरडीएल पुगेको उल्लेख गरिएको छ । बुधबार राति उनको ब्लड सुगर ५६ एमजीरडीएल रहेको थियो।
टोलीका अनुसार डा. केसीको रक्तचापमा उतारचढाव देखिएको छ भने मांसपेशी बाउँडिने समस्या समेत देखिएको छ। स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनलाई बोल्नसमेत असहज भइरहेको जनाइएको छ।
खुट्टाको अपरेसन गरेका कारण डा. केसीलाई हिँडडुल गर्न कठिनाइ भइरहेको छ। बाथरुम जानसमेत समस्या भइरहेको उनको टोलीले जनाएको छ।
डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगेन्द्र दुवालको नेतृत्वमा स्वास्थ्य टोलीले नियमित निगरानी र परीक्षण गरिरहेको छ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति तथा गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) लगायतका विषयमा सुधारको माग राख्दै डा. केसीले धनगढीमा सत्याग्रह सुरु गरेका हुन् । तर उनको सत्याग्रहलाई सुदूरपश्चिमका जनताले स्वीकार गरेका छैनन् । उनलाई सत्याग्रहमा नबस्न भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।