काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद कार्कीले डा. केसीले अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताउँदै उनका जायज मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरेकी हुन्।
उनले डा। केसीलाई आफ्ना मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सुझाव दिनसमेत आग्रह गरेकी छन्।
कार्कीले लेखेकी छन्, 'विगतका सरकारमा तपाईंले पटक–पटक शोषक र शासक देख्नुभयो होला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो। जनताको कुरा सुन्छ, तपाईं जस्तो निस्वार्थ विज्ञको पनि सुन्छ।'
उनले चिकित्सा शिक्षालाई थप स्वच्छ, प्रभावकारी र जनमुखी बनाउन डा. केसीसँग सहकार्य गर्न सरकार तयार रहेको दाबी गर्दै अनशन अन्त्य गर्न आग्रह गरेकी छन्।
'भयो सर, अनशन छोडिदिनुस्, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईंका जायज मागहरूमा हामी तपाईंसँगै सहकार्य गर्दै अघि बढ्नेछौँ,' उनले भनेकी छन्।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा. गोविन्द केसी बिहीबारदेखि धनगढीमा अनशनरत छन्।