Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रास्वपाका सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने

रास्वपाका सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा परिवारवाद र नातावाद अन्त्य गर्न निर्देशन दिएको छ ।

पार्टीले सांसदका स्वकीय सचिवमा आफ्नै परिवारका सदस्य तथा नजिकका आफन्तलाई नियुक्त गर्न पूर्ण प्रतिबन्ध लगाएको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार सांसदहरूका लागि जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिव नियुक्ति पार्टीको विधान र सुशासनको मूल नीतिअनुसार हुनुपर्ने उल्लेख गरेका छन् ।

निर्देशनमा भनिएको छ, 'स्वकीय सचिव नियुक्ति गर्दा एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।'

रास्वपाले स्वकीय सचिव बन्नका लागि संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक तह वा सोसरह) अनिवार्य गरेको छ। साथै सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्यमान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिइएको छ।

पार्टीले स्वकीय सचिव नियुक्तिमा समावेशितालाई समेत प्राथमिकता दिने नीति लिएको छ। योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका व्यक्तिलाई अवसर दिन निर्देशनमा उल्लेख गरिएको छ।

त्यस्तै, नियुक्त हुने स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिने गरी काम गरेको हुन नहुने व्यवस्था गरिएको छ।

रास्वपाले स्वकीय सचिव छनोट प्रक्रिया सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गर्नुपर्ने जनाएको छ। सांसदले योग्य उम्मेदवार छनोट गरेपछि नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

संघीय संसदका सदस्यहरूको जिम्मेवारीलाई प्रभावकारी बनाउन सरकारले हालै संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ संशोधन गर्दै सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077