Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अब नेपालमा २ सय र ५ सय दरका भारु नोट पनि चल्ने

अब नेपालमा २ सय र ५ सय दरका भारु नोट पनि चल्ने

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारू) २०० र ५०० दरका नयाँ नोट नेपाल ल्याउन, भारत लैजान तथा सटही गर्न अनुमति दिएको छ। 

राष्ट्र बैंकका अनुसार यो व्यवस्था नेपाली र भारतीय दुवै नागरिकका लागि लागू हुनेछ।

यसअघि नेपालमा भारू १०० सम्मका नोट मात्रै चलाउन र सटही गर्न पाइने व्यवस्था थियो । नयाँ व्यवस्थासँगै भारतमा रोजगारीमा रहेका नेपाली, नेपाल भ्रमणमा आउने भारतीय पर्यटक, भारत जाने नेपाली पर्यटक तथा दुवै देशबीच आवतजावत गर्ने तीर्थयात्रीलाई सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ अघि चलनचल्तीमा रहेका र भारत सरकारले अमौद्रिकीकरण (डिमोनेटाइज) गरिसकेका भारू ५०० र १००० का पुराना नोट भने नेपालमा मान्य हुने छैनन् । त्यस्तै, भारत सरकारले चलनचल्तीबाट हटाइसकेको भारू २००० दरको नोट पनि नेपालमा ल्याउन, बोक्न वा सटही गर्न पाइने छैन ।

यसअघि राष्ट्र बैंकले भारू २०० र ५०० का नयाँ नोटसमेत नेपालमा प्रयोग गर्न अनुमति दिएको थिएन । तर, पछिल्लो सूचनामार्फत ती नोट बोकेर हिँड्न र सटही गर्न सकिने व्यवस्था लागू गरिएको हो ।

यद्यपि, भारू २०० र ५०० दरका नोट २५ हजार रुपैयाँभन्दा बढी बराबर नेपाल ल्याउन, लैजान वा सटही गर्न भने अनुमति नहुने राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077