झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयका अनुसार गण परिसरभित्रको आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा जवान सुदिम खत्रीको बिहीबार साँझ मृत्यु भएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मुख्यालयका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी०बाट तालिम प्राप्त गरेका थिए।
घटनापछि गणको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले विरोध जनाइरहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।