सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आलोचनामा परेका छन्।
सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुप्ता सार्वजनिक भएको भिडियोमा गुडिरहेको मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइल चलाइरहेको देखिन्छ। उनले हेल्मेटसमेत नलगाएको देखिएपछि ट्राफिक नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षाका आधारभूत नियम बेवास्ता गर्दै जोखिमपूर्ण शैलीमा यात्रा गरेको भन्दै प्रयोगकर्ताहरूले आपत्ति जनाएका छन्।
यसैबीच घटनाबारे प्रतिक्रिया दिँदै सांसद गुप्ताले ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। उनले कानुनी कारबाही भोग्न तयार रहेको बताउँदै सम्बन्धित मोटरसाइकल जरिवानाका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी दिएका छन्।
'बाइक सवारीका क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्छु। जरिवाना काट्न सवारी ट्राफिक प्रहरी कार्यालय पठाएको छु.' उनले भने
यता प्रहरी स्रोतका अनुसार बब्लुलाई यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अन्तर्गत कारबाही हुने भएको छ ।
उक्त दफामा लापरबाहीको कसुर आकर्षित हुने ती अधिकारीको भनाई छ । सो व्यवस्थाअनुसार पहिलोपटक ५००, दोस्रोपटक १००० र तेस्रोपटक १५०० रूपैयाँ जरिवाना हुन्छ ।
पछिल्लो समय आफ्नै गतिविधीहरुले रास्वपा सांसदहरु विवादमा पर्ने गरेका छन् ।
यसअघि रास्वपाकी जेनजी सांसद सृष्टी भट्टराई पनि आफ्नै एउटा भिडिओका कारण विवादमा परेकी थिइन् । उनले गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी जीउ बाहिर निकालेर यात्रा गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
सांसदजस्तो जिम्मेवार व्यक्तिले यसरी गैरजिम्मेवार र उत्ताउलोपन देखाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आपत्ति जनाएका थिए।
सांसद भट्टराई फेरी ट्राफिक कारबाहीमा परेकी थिइन् । कारबाहीपछि भट्टराईले भिडियोमा देखिएको गतिविधि सडक सुरक्षा तथा ट्राफिक अनुशासनका दृष्टिले उपयुक्त नभएको स्वीकारेकी थिइन् ।
साथै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।