बाजुरा । अविरल वर्षापछि आएको बाढीले बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान आसपासको बस्ती डुबानमा परेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति बस्तीमा बाढी पसेलगत्तै प्रहरी टोली परिचालन गरी प्रभावित परिवारको उद्धार गरिएको हो।
उनीहरूलाई आवश्यक सरसामानसहित सुरक्षित स्थानमा पुर्याएर नजिकैका स्थानीय घरहरूमा अस्थायी रूपमा बसोबासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीका कारण कम्तीमा तीन वटा घर उच्च जोखिममा परेका छन्। थप जोखिम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रको निरन्तर निगरानी भइरहेको डीएसपी बोहराले जानकारी दिइन्।
यसैबीच, निरन्तर वर्षासँगै गएको पहिरोले बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको सडक अवरुद्ध भएको छ। सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो हटाउने कार्य तीव्र रूपमा अघि बढाइरहेको प्रहरीले जनाएको छ।