काठमाडौं । देशभर जारी अविरल वर्षा, बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन् ।
शुक्रबार बिहान ६ः०० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ।
सबैभन्दा बढी असर बागमती प्रदेशमा परेको छ। काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरस्थित कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा सडक क्षतिग्रस्त भएको छ।
बकैया गाउँपालिका–११ क्षेत्रमा सडक पूर्ण रूपमा बन्द छ भने भीमफेदी खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–४ स्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ।
कोशी प्रदेशमा भोजपुरको बोखिम क्षेत्रमा बाढीले मध्यपहाडी लोकमार्ग प्रभावित बनाएको छ। उक्त सडकमा अहिले एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भए पनि दुवै स्थानमा वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ।
गण्डकी प्रदेशमा कास्कीको नयाँपुल–घान्द्रुक सडकखण्ड र बागलुङको इनारपानीस्थित मध्यपहाडी लोकमार्गमा पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गुल्मीस्थित कालीगण्डकी करिडोर र रुद्रबेणी सडकखण्डका तीन स्थानमा पहिरो खसेपछि ती सडकहरू पनि एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन्।
सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण उद्धार तथा सडक सफाइ कार्यमा कठिनाइ भइरहेको सम्बन्धित निकायले जनाएको छ।
