ओखलढुङ्गा । लगातारको भीषण वर्षापछि आएको बाढी र पहिरोले ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ।
बाढीले गाउँपालिका केन्द्र जोड्ने पक्की पुल बगाएको छ भने स्थानीयका घर, गोठ, पशुचौपाया र सय रोपनीभन्दा बढी मकैबाली नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार चिशंखुगढी गाउँपालिका–५ स्थित खानीखोलाको पक्की पुल शनिबार साँझ आएको बाढीले बगाएपछि गाउँपालिका केन्द्रसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेको छ।
यस्तै, वडा नम्बर–१ को कुइभिर र वडा नम्बर–२ को पोखरेबीच बग्ने बाङ्गेखोलामा आएको बाढीले स्थानीयका घरगोठ बगाउनुका साथै १०० रोपनीभन्दा बढी मकैबाली भएको खेतीयोग्य जमिन बगाएको स्थानीयले बताएका छन्।
वडा कार्यालयले क्षतिको विवरण सङ्कलन गरी पीडित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ।
प्रहरीको प्रारम्भिक विवरणअनुसार टीका भुजेलको गोठ बगाउँदा एक भैँसी, मननारायण श्रेष्ठको गोठ बगाउँदा दुई गोरु, मनबहादुर सार्कीको गोठ बगाउँदा तीन गोरु बेपत्ता भएका छन्।
वडा नम्बर–५ का सुरेश नेपालीको गोठ पनि बाढीले बगाउँदा एक भैँसी हराएको र एउटा पाडो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बाढीसँगै खसेको पहिरोले स्थानीय बस्तीसमेत उच्च जोखिममा परेको छ। वडा नम्बर–१ का रामकुमार राईको दुईतले घरको जगमुनिबाट पहिरो गएपछि घरमा क्षति पुगेको छ र उनको परिवार सुरक्षित स्थानमा सरेको छ।
त्यस्तै, जनकबहादुर मगरको घरमाथिबाट पहिरो खस्दा घर चर्किएपछि उनको परिवार पनि विस्थापित भएको छ।हालसम्म मानवीय क्षतिको खबर नआए पनि बाढी र पहिरोबाट भएको भौतिक क्षति ठूलो रहेको प्रहरीले जनाएको छ।
बेपत्ता पशुचौपायाको खोजी जारी रहेको छ भने निरन्तर वर्षा भइरहेकाले थप जोखिम हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले नदी किनार र पहिरो प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।