Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वर्षाले देशभर सडक सञ्जाल प्रभावित, प्रमुख राजमार्गमा अवरोध

वर्षाले देशभर सडक सञ्जाल प्रभावित, प्रमुख राजमार्गमा अवरोध

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । देशका विभिन्न भागमा निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले आज बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बागमती, कोशी र लुम्बिनी प्रदेशका विभिन्न सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ ।

बागमती प्रदेशअन्तर्गत काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थान नजिकै सतुङ्गल–चित्लाङ सडक खण्डमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

प्रभावित क्षेत्रमा मर्मत तथा पुनःनिर्माण कार्य जारी रहेकाले उक्त मार्ग करिब एक महिनासम्म सञ्चालनमा आउन नसक्ने अनुमान गरिएको छ।

यस्तै, काभ्रेपलाञ्चोक भएर जाने रणनीतिक महत्वको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको उच्च जोखिम देखिएपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।

कोशी प्रदेशका विभिन्न जिल्लामा पनि वर्षाले सडक यातायातमा असर पुर्‍याएको छ। पाँचथरको याङवरक गाउँपालिका–२ दोभान क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यद्यपि केही प्रभावित सडकहरूमा आंशिक रूपमा यातायात सञ्चालन सुरु गरिएको छ। भोजपुर नगरपालिका–५ बोखिममा बाढीले क्षति पुर्‍याएको मध्यपहाडी लोकमार्ग वैकल्पिक मार्गमार्फत एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

त्यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा पहिरोका कारण अवरुद्ध भएको कोशी राजमार्ग पनि एकतर्फी रूपमा सुचारु गरिएको छ।

लुम्बिनी प्रदेशको रोल्पामा समेत पहिरोले सडक सञ्जालमा असर पुर्‍याएको छ। परिवर्तन गाउँपालिका–१ बाङ्गा क्षेत्रमा घोराही–थवाङ सहिद राजमार्गमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक विभाग, नेपाल प्रहरी तथा स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खुलाउने प्रयास तीव्र बनाएका छन्। तर वर्षा जारी रहेकाले थप जोखिम सिर्जना हुन सक्ने चेतावनी दिइएको छ।

अधिकारीहरूले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सम्बन्धित जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी वा नेपाल प्रहरीबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन् ।

713303147_1475278104644273_674905729667299441_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077