काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न स्थानका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् ।
केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म हरेक दिन बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ । यस्तै, कान्ति लोकपथमा पनि अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यसअघि काठमाडौंबाट चितवन, गोरखा, धादिङ, नुवाकोटलगायत जिल्लातर्फ सञ्चालन हुने सवारीसाधन शनिबार राति १० बजेदेखि आइतबार बिहान ५ बजेसम्म रोकिएका थिए। रातको प्रतिबन्ध हटाइएपछि आइतबार बिहानदेखि सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
यता, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरोसँगै ढुङ्गा–माटो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
उता, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा लगातार पहिरो खसेपछि बिपी राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
प्रहरी र सडक विभागका टोलीहरूले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन् ।
