काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले पासपोर्ट ठेक्कामा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर पंगु बनाएको आरोप लगाएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै विगतका सरकारले आफ्ना मान्छे नियुक्त गरेर अख्तियारलाई कमजोर बनाएकाले सरकारले तर्साएर निष्क्रिय बनाउने प्रयास गरेको दाबी गरे ।
उनले भने–‘दलको आदेश मान्ने वा राजनीतिक दबाबमा चल्ने अख्तियार दुवै अवस्थामा प्रभावकारी हुन सक्दैन । तर, किन अख्तियार पंगु भयो त ? पछिल्लो समयमा पासपोर्टको काण्डमा सुनिराख्नुभएको छ । योभन्दा पहिलाको सरकारहरूले आफ्नो मान्छे बनाएर अख्तियारलाई पंगु बनायो, अहिलेको सरकारले अख्तियारलाई तर्साएर पंगु बनाउने भयो । हामीले स्वतन्त्र संवैधानिक एउटा अङ्ग खोजेको हो ।’
उनले भ्रष्टाचारका फाइल खोल्नेभन्दा पनि कुनै पनि सरकारले फाइल बन्द गर्न नसक्ने प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र प्रभावकारी संवैधानिक निकाय बन्नुपर्ने भन्दै त्यसका लागि नियुक्ति प्रक्रियामै सुधार आवश्यक रहेको बताए।
संवैधानिक परिषद्बाट हुने नियुक्तिलाई निष्पक्ष र विश्वासयोग्य बनाउन संविधान संशोधनबारे छलफल गर्नुपर्ने भन्दै थापाले विगतमा संवैधानिक निकायहरूमा भागबन्डा भएको अनुभव रहेको र अहिले पनि कार्यपालिका प्रभाव बढ्ने जोखिम देखिएको भन्दै सुशासनका दृष्टिले संविधानमा आवश्यक संशोधन गर्नुपर्ने बताए। समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
वर्तमान मिश्रित निर्वाचन प्रणालीले ल्याएको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्पबारे बहस गर्नुपर्ने उनको प्रस्ताव छ।
दलित, महिला, र जनजाति लगायतका उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष तर्फ नै निश्चित क्षेत्रहरू आरक्षित गर्ने उपाय अपनाउन सकिने उनको भनाइ थियो।
सङ्घीयतालाई थप प्रभावकारी बनाउन केन्द्रमा रहेका कतिपय अधिकार र स्रोतहरू प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिनुपर्नेमा थापाले जोड दिए ।