काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाएका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र १०० बुँदे कार्यक्रमबारे पार्टी संयन्त्रको समीक्षामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले भने- 'यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ । सरकारलाई वास्तविक जीवनको सवालभन्दा पनि लोकप्रियताको चिन्ता रहेको पाउँछौँ । यसलाई उदाहरणबाट पनि बुझ्न सकिन्छ ।'
उनले सरकारको कार्यशैली नागरिकको उठिबास लगाएर सामाजिक सञ्जालमा चर्चा कमाउने कार्यमा सिमित रहेको उनको टिप्पणी छ ।
सभापति थापाले भूमिहीनको समस्या समाधान गर्नु राज्यको दायित्व भएपनि वैकल्पिक व्यवस्थापनबिना टोल टोलमा डोजर आतंक मच्चाएको समेत आरोप लगाए ।
अर्थतन्त्रको सन्दर्भमा बोल्दै थापाले बैंकहरूमा पर्याप्त तरलता भए पनि व्यवसायीहरूमा आत्मविश्वास नहुँदा लगानी हुन नसकेको बताए ।
'बैंकमा पैसा छ, तर कर्जा लिन कोही जाँदैनन्। सानोदेखि ठुलो व्यवसायीसम्म कसैमा पनि आत्मविश्वास छैन, किनकि सरकारको व्यवहार प्रक्रियासम्मत छैन,' थापाले भने।
सरकारले निजी क्षेत्रलाई तर्साउने र प्रक्रिया मिचेर धरपकड गर्ने गर्दा नयाँ व्यवसाय सुरु गर्ने वातावरण बिग्रिएको उनको तर्क थियो।
यद्यपी उनले सरकारले मुलुकका दलित समुदायसँग माफी माग्ने कुरा सकारात्मक रहेको बताएका छन् ।