एजेन्सी । बलिउड अभिनेता आमिर खानले तेस्रो विवाह गरेका छन् ।
आज आमिरले प्रेमिका गौरी स्प्रेटसँग मुम्बईको पाली हिल (बान्द्रा)स्थित निजी घरमा विवाह गरेका हुन्।
विवाह समारोहका केही तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा आमिर-गौरी दुवै परिवारका सदस्य तथा केही नजिकका साथीहरूसँगै पत्रमा हस्ताक्षर गरिरहेको देख्न सकिन्छ।
आमिरले यसअघि सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग पहिलो विवाह गरेका थिए । उनीहरूका दुई सन्तान छन्– जुनैद र इरा खा । झन्डै १६ वर्षपछि सन् २००२ मा उनीहरूको सम्बन्ध विच्छेद भएका थियो ।
त्यसपछि आमिरले सन् २००५ मा फिल्म निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । यो जोडीको एउटा छोरा छ । सन् २०२१ मा आमिर र किरणले आपसी सहमतिमा सम्बन्ध विच्छेद गरे । सम्बन्ध विच्छेदपछि पनि उनीहरूबिच मैत्रीपूर्ण सम्बन्ध कायम छ । दुवैले मिलेर छोरा हुर्काइरहेका छन् ।
गौरी बेङ्गलुरु निवासी सैलुन व्यवसायी तथा फेसन क्षेत्रमा आबद्ध व्यावसायिक व्यक्तित्व हुन् । गौरीको पनि यसअघि नै बिहे भइसकेको छ । उनको सात वर्षका एक छोरा पनि छन् ।
आमिर र गौरीबिच एक अर्कालाई करिब २५ वर्षदेखि चिनजान रहेको बताइएको छ । लामो समयसम्म साथी रहेका उनीहरू पछिल्ला वर्षहरूमा प्रेम सम्बन्धमा रहेका थिए । आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनका अवसरमा गौरीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए ।
सम्बन्ध सार्वजनिक गरेयता गौरी आमिरसँग विभिन्न सार्वजनिक कार्यक्रमहरूमा देखिँदै आएकी थिइन् ।