महोत्तरी। सशस्त्र प्रहरीले महोत्तरीबाट ४८७.१०८ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको छ।
शनिबार विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बथनाहको टोलीले ना ३ ख ६५९२ नम्बरको ट्रक खानतलासी गर्दा उक्त वस्तु फेला पारेको थियो ।
मकवानपुर जिल्लाको कैलाश गाउँपालिका-१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय विपस नेगीलाई नियन्त्रणमा लिइएको थियो।
धनकुटाको भेडेटारबाट महोत्तरीको जलेश्वर हुँदै पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा चालकले तीव्र गतिमा भगाएका थिए। करिब दुई किलोमिटर टाढा पुगेर ट्रकलाई नियन्त्रणमा लिएको थियो।
सोधपुछका क्रममा चालकको व्यवहार शङ्कास्पद देखिएपछि ट्रकको सूक्ष्म जाँच गर्दा चालक बस्ने क्याबिनको माथिल्लो भागमा तीन बन्डल गाँजा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा धनकुटाबाट महोत्तरी ल्याइएको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।
सोही अनुसन्धानका आधारमा महोत्तरी गाउँपालिका-४ रानी रतवाडास्थित एक घरमा खोजतलास गर्दा थप ३५ वटा प्लास्टिकका पोकामा प्याक गरिएको ४४६.७४८ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यससँगै बरामद गाँजाको कुल परिमाण ४८७.१०८ किलोग्राम पुगेको छ।
बरामद गाँजा, ट्रक तथा पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।