काठमाडौं । अविरल वर्षापछि रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
आइतबार अपराह्नदेखि परेको भारी वर्षासँगै खोलामा पानीको बहाव ह्वात्तै बढेपछि डाइभर्सनमा क्षति पुगेको हो।
शनिबारदेखि नै रोशी खोलाको जलसतह बढ्न थालेको भए पनि आइतबारको वर्षाले अवस्था झनै जटिल बनेको छ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार रोशी खोलाको बाढीले सडक अवरुद्ध गरेपछि सुरक्षाका दृष्टिले सबै प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोकिएको हो।
विशेषगरी घुम्ती र चौकीडाँडा क्षेत्रमा सडक तथा डाइभर्सनमा क्षति पुगेको उनले जानकारी दिए।