सर्लाही । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनी बर्दिबासको प्रमुख परिवर्तन भएर डीआईजी बिष्णुप्रसाद भट्ट आएपछि पनि सर्लाहीमा तस्करी यथावत रहेको छ ।
सशस्त्रको प्रस्तावित फेनहरा गुल्म सर्लाही र अन्तर्गतका बीओपी मधुवनी र बलराका इन्चार्जहरुकै सेटिङमा तस्करी हुने गरेको छ । कपडा, किराना, डिजेलदेखि बिभिन्न सामान भारतबाट आउने गरेको छ भने नेपालबाट खरबुजाको बीउ, मदिराहरु भारततर्फ तस्करी हुने गरेको छ ।
डीआईजी भट्टले मधेश प्रदेशमा तस्करी नियन्त्रण गर्न अभियान नै चलाएका छन् । तर पनि सर्लाहीमा भने त्यसको असर परेको छैन ।
सर्लाहीका फेनहरा गुल्म अन्तर्गतका बीओपीहरुबाट रामराजा कमाचार्य, राजेश महतो, राजीव यादव, राकेश यादव, नवल साह, जयराम यादव, सिकेन्द्र मुखिया, सुशील यादव, उमेश चौधरी, राजा साह, मुकेश चौधरी, मुकेश यादव, मनोज चौधरी, बृजकुमार यादव, दिनेश यादव, सरोज पासवानहरुले कपडादेखि किराना नेपालमा भित्र्याउने गरेको आरोप छ ।
यी सबैबाट दररेट अनुसार संकलन गरी बृजकुमार यादवले फेनहरा गुल्मका सई टकबहादुर थापालाई बुझाउने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार बृजकुमार यादव भारतीय नागरिक भएकाले सुरक्षित महसुस गर्दै उनीमार्फत् दररेट लिने गरिएको छ ।
सई थापा यसअघि सर्लाहीका मलंगवा र सखुवामा कार्यरत रहिसकेकाले उनीमार्फत् फेनहरा गुल्मपतिले सेटिङ मिलाएका छन् । जसमा १० नम्बर गण कविलासी, अर्गवाका एसपी अमर खत्रीको पनि साथ रहेको स्रोत बताउँछ ।
सशस्त्रको ३९ नम्बर रिजर्भ गणमा दरबन्दी भएका सहायक हवल्दार रोशन मिश्राले सई थापासँग ब्यापारीको नेटवर्क मिलाइदिएको स्रोतको दाबी छ । फेनहरा गुल्मका इन्चार्ज डीएसपी बिष्णुदत्त अवस्थी छन् । सई थापाले अवस्थीसम्मलाई मिलाएर ब्यापारीलाई दिने गरेका छन् ।
स्रोतका अनुसार भारतीय नम्बर प्लेटको थार गाडीमा सर्लाहीका सबै सीमामा पुग्ने गरेका मिश्रा आफू भने सिनमा नदेखिई थापामार्फत् नै ब्यापारीको नेटवर्क मिलाउने गरेका छन् ।
दरबन्दी रिजर्भ गणमा भए पनि मिश्रा दिनभर सीमा क्षेत्रमै रहने गरेको आरोप छ । उनले नै बृजकुमार र थापाको नेटवर्क मिलाइदिएका हुन् ।
विगत ४ बर्षमा मिश्राले मधेश प्रदेशका सर्लाही र रौतहटमा तस्करीको नेटवर्क नै चलाएका थिए । गएको साउनमा रौतहटको ८ सय बोरा चिनी तस्करीमा मुछिएपछि उनी सशस्त्र मुख्यालय तानिएका थिए ।