विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
सरकारी तथा सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका अवैध संरचना हटाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई पूर्ण रूपमा परिचालन गरिने उनले स्पष्ट पारे।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आइतबार साँझ कोशी अस्पतालको आकस्मिक निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले वर्षौंदेखि विभिन्न संस्था र समितिले अस्पतालको जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग गरिरहेको विषयमा चासो व्यक्त गर्दै कानुनविपरीत सार्वजनिक सम्पत्ति कब्जा गर्नेलाई कुनै छुट नदिइने चेतावनी दिए ।
अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन १५ दिनको समयसीमा दिएको दुई दिनपछि मन्त्रीद्वयको टोली स्थलगत निरीक्षणमा पुगेको हो। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले अस्पतालको स्वामित्वमा रहेको सम्पूर्ण जग्गा खाली गराउने अभियानमा गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्ने बताए।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालले दिएको समयसीमा सकिँदासमेत संरचना नहटाइनु दुःखद भएको बताउँदै अबको एक साताभित्र अतिक्रमित क्षेत्र खाली गराइने प्रतिबद्धता व्यक्त गरिन्।
कोशी अस्पतालको स्वामित्वमा रहेको विराटनगर–७ का कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ मा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी भाडामा लगाएको पाइएको छ।