एजेन्सी । युक्रेनले रुसको उत्तर–पश्चिमस्थित दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति गरिएको उक्त आक्रमण युद्ध सञ्चालनका लागि रुसको आर्थिक स्रोतमा प्रहार गर्ने उद्देश्यले गरिएको बताएका छन्।
जेलेन्स्कीका अनुसार निशाना बनाइएको तेल टर्मिनल रुसले युद्धका लागि राजस्व संकलन गर्ने महत्वपूर्ण ऊर्जा पूर्वाधारमध्ये एक हो। उनले सेन्ट पिटर्सबर्ग क्षेत्रमा रहेको रुसको एक प्रमुख नौसैनिक अड्डालाई पनि लक्ष्य बनाइएको दाबी गरेका छन्।
यता, सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्यान्डर बेग्लोभले सहरमा ‘भीषण’ ड्रोन आक्रमण भएको पुष्टि गर्दै तेल टर्मिनलमा क्षति पुगेको स्वीकार गरेका छन्। यद्यपि, आक्रमणबाट कुनै मानवीय क्षति नभएको उनको दाबी छ।
हालका महिनाहरूमा युक्रेनले रुसका तेल भण्डारण केन्द्र, प्रशोधन उद्योग तथा अन्य ऊर्जा पूर्वाधारमाथि लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। युक्रेनले आफ्ना आक्रमणका कारण रुसको तेल प्रशोधन क्षमताको करिब ४३ प्रतिशत प्रभावित भएको दाबी गरेको छ।
यसबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता युक्रेनी आक्रमणका कारण देशमा इन्धन आपूर्तिमा समस्या देखिएको स्वीकार गरेका थिए। त्यसपछि शनिबार उनले घरेलु बजारमा इन्धन आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले नयाँ विधेयकलाई अनुमोदन गरेका छन्।
रुसले २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेयता दुई देशबीच युद्ध निरन्तर जारी छ।