काठमाडौं । ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने गाडीको सिसामा लगाइएको कालो स्टिकर हटाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले गृहमन्त्री गुरुङ र सचिव श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर हटाएको हो ।
डीएसपी सुनिलजंग शाह नेतृत्वको ट्राफिक प्रहरीको टोलीले सिंहदरबार पुगेर सिसाको कालो स्टिकर हटाएको हो ।
गृहमन्त्री गुरुङले आज ट्राफिक प्रहरी महाशाखा पुगेर आफ्नो गाडीको कालो सिसा पनि हटाउन निर्देशन दिँदै यो अभियानलाई तीव्रता दिन भनेका थिए ।
ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर आइतबार देखी हटाइरहेको छ ।
निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागूऔषध ओसारपसार तथा सेवन हुने गरेको प्रहरीको दावी छ ।
सुन ओसारपसारका घटनादेखि अपराधी फरार हुन समेत कालो सिसाका सवारी प्रयोग भएको पाइएको भन्दै ट्राफिक प्रहरीले यो अभियान चालाएको बताएको छ ।
सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।